Home / NEWS / दलित युवतीमाथि चुल्हो छोएको निहुँमा कुटपिट तथा दूव्र्यवहार

दलित युवतीमाथि चुल्हो छोएको निहुँमा कुटपिट तथा दूव्र्यवहार

Published Date: 02/01/2017

जागरण मिडिया सेन्टरलाई प्राप्त जानकारीअनुसार सुनसरी जिल्ला बराहक्षेत्र गाविस वाड नं. ५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मालाई छिमेकी वर्ष ६० का कृतीमान राईले चुल्हो छोएको निहूँमा कुटपिट तथा दूव्र्यवहार गरेका छन् । विश्वकर्मालाई राईले जातीय रुपमा होच्याउँदै कपालमा समातेर पछार्नुका साथै गालामा झापडसमेत लाएका थिए । नाताले मित मामा पर्ने कितावसिंह राईको घरमा आगोको कोइला लिन गएको समयमा उनीमाथि कुटपिट तथा दुव्र्यवहार भएको थियो । कुटपिटपछि पीडित परिवार न्यायको खोजिमा छ ।

सुनसरी जिल्ला बराहक्षेत्र गाविस वाड नं. ५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मा स्थानीय आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययनरत छिन् । दुई भाई र बहिनीमध्ये जेठी सन्तानको रुपमा रहेकी शारदाका बावु चुनबहादुर विश्वकर्मा गाउँघरमा डकर्मी काम गरेर परिवार पाल्दै आएका छन् भने आमा गृहिणी हुन् ।

जाडोको मौसममा आगो सल्काउन कठीन हुने भएकाले घरमा आगो बाल्नका लागि कोइला लिन शारदा मिति २०७३ माघ १४ गते साँझ करिब ४ बजेतिर छिमेकी कितावसिंह राईको घरमा गएकी थिइन् । कितावसिंह बुहारीकी आमा अर्थात् सम्धीनीसँग घरभित्रबसी कुराकानी गर्दै थिए । कुराकानीमा करिब वर्ष ६० का ‘कुण्डले बाजे’ भनेर चिनिने कृतीमान राई पनि सहभागी थिए ।

आँगनमा कितावसिंहकी छोरीले बेलुकाका लागि भात पकाउँदै थिइन् । आगो लिन आएकी शारदाले सरासर चुल्होबाट भुङ्ग्रो उठाउँदै थिइन्, त्यसैबेला कृतीमान राई आएर ‘तिमीहरु कामी भएर हामी राईले पकाउँदै गरेको चुल्हो छुने भन्दै कराउन लागे । शारदाले ‘किन दलित भनेर हेप्नुहुन्छ भनेर सम्झाउन खोजिन् । तर, राईले जातीय रुपमा अपमानजनक शब्दहरु प्रयोग गर्दै कपालमा समाएर लतार्दै शारदाको गालामा झापड हाने । कुटाइका कारण शारदा भुइँमा पछारिइन् । कुटपिट हुँदा छिमेकी र गाउँलेहरु रमिता हेरेर बसिरहे ।

कृतिमान राई र शारदाको परिवारबीच कुनै छिमेकीबाहेकको कुनै नातासम्बन्ध छैन । तर, कितावसिंहको परिवार र शारदाको परिवारबीच मितेरी साइनो थियो । नाताले कितावसिंह शारदाका मित मामा पर्छन् । शारदाका अनुसार अरु समयमा पनि कितावसिंहको घरमा गएर विश्वकर्मा परिवारले खाना खाने, कुराकानी गर्ने र सुख, दुःखमा सहयोग गर्दै आएको थियो । यसअघि पनि कृतीमान र उनको परिवारले कितावसिंहको परिवारलाई समेत दलितसँग सम्बन्ध राखेको भन्दै बेलाबेलामा अपमान गर्दै आएका थिए । कृतीमानका छोरीहरु र कितावसिंहका छोरी–बुहारीहरु शारदाका मिल्ने साथीहरु पनि हुन् ।

कुटपिट भएपछि शारदा रुँदै घरमा आइन् ।  बेलुका करिब ६:३० बजे शारदाका बाबु चुनबहादुर विश्वकर्मा कामबाट फर्किए । शारदाकी बहिनीले बाबुलाई घरभित्र नपस्दै घटनाको विषयमा जानकारी गराएपछि उनी सिधै कृतीमानको घरमा गएर ‘मैले आजसम्म हातसम्म नउठाएकी मेरी जवान छोरीलाई हातपात र कुटपिट गर्ने अधिकार कल्ले दियो’ भन्दै कृतीमानलाई गाली गरे । तर, कृतीमानले आफ्नो गल्ती स्वीकार्नुभन्दा उल्टै जातीय रुपमा अपमानजनक र अश्लिल शब्दहरु प्रयोग गर्दै चुनवहादुरलाई धम्क्याए ।

घटना भएको अर्को दिन विहान करिब १० बजेतिर चुनबहादुरले नाताले भान्जा पर्ने धरानस्थित औजार दैनिकका सम्पादक रणध्वज लोहारलाई घटनाबारे जानकारी गराएपछि घटनाले चर्चा पायो । तर, 'जातीय विभेद भएमा कसरी कानुनी उपचार खोज्न सकिन्छ' भन्नेबारे जानकारी नपाएका चुनबहादुर प्रहरी चौकीसम्म जान सकेनन् । घटना भएको पाँच दिनपछि जागरण मिडिया सेन्टरले पीडित परिवारलाई सम्पर्क गरी ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार ईलाका प्रहरी कार्यालयमा उजुरी दिन सल्लाह दियो । सोही दिन करिब पाँच बजेतिर पीडित परिवारले दलित सेवासंघका जिल्ला अध्यक्ष लङ्कमान विश्वकर्माको सहयोगमा ईलाका प्रहरी कार्यालय बराहक्षेत्रका इन्चार्ज रामदेव चौधरी समक्ष उजुरी पेश गरेका छन् ।

जागरण मिडिया सेन्टर पीडितको आत्मसम्मानको रक्षाका लागि घटनामा संलग्न कृतीमान राईलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार हदैसम्मको कारवाही गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ । विशेषगरी दलित समुदायसँग सम्बन्धित घटनामा राज्य र प्रहरी प्रशासनले देखाउने उदासीनताका कारण यो घटनाका पीडित विश्वकर्मा परिवारले न्याय पाउँछन् भन्नेमा शंका छ । त्यसैले पीडितलाई न्याय दिलाउनका लागि आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुहुन हामी पत्रकार, नागरिक समाज, मानवअधिकारवादी सङ्घसंस्थालगायत सबैसँग हार्दिक अपील गर्दछौ ।

शारदा र उनका बाबुसँग गरिएको कुराकानी सुन्नका लागि क्लिक गर्नुहोस्